बुधबार १७ आश्विन २०८०
https://www.highrevenuegate.com/df70x27m?key=a4489bb3ce2c074750f89527257a9f0f


काठमाडौ उपत्यकामा सवारीसाधन चलाउनेका लागि आयो नया कडा नियम

प्रकाशित मिति । २४ मंसिर, २०७९ ।

काठमाडौ – जाँडरक्सी र लागु पदार्थ खाएर गाडी चलाउनेलाई प्रहरीले मुद्दा चलाउन थालेको छ। कारबाही मात्रै गरेर छोड्ने गरेको प्रहरीले मुद्दा चलाउन थालेको हो।

काठमाडौँ उपत्यकाका विभिन्न क्षेत्रमा सुरक्षा जाँचका क्रममा स्कुलका बस चलाउने चालकले समेत जाँडरक्सी र लागुु पदार्थ खाएको भेटिएपछि प्रहरीले सार्वजनिक अपराधका साथै सम्बन्धित कसुरमा मुद्दा नै चलाउन थालेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

केही दिनअघि मात्रै काठमाडौँको फर्पिङमा ना १ ज ८४६९ नम्बरको जीप चालक काभ्रे पनौतीका ४४ वर्षीय नवराज केसीले जाँडरक्सी खाएर गाडी चलाएको भेटिएको थियो। उनीमाथि प्रहरीले अभद्र व्यवहार गरेको आरोपसहित मुद्दा चलाएको छ।

लागुऔषध खाएर गाडी चलाएका पाँच जनाविरुद्ध पनि लागुऔषध सेवनको कसुरमा पाँच दिन म्याद थप गरेर मुद्दा अघि बढाइएको प्रहरीले जनाएको छ। उनीहरूलाई किटको प्रयोग गरी पिसाब जाँच गर्दा लागुऔषध सेवन गरेको पाइएको थियो।

ऋण मिनाहा र क्षतिपूर्तिको माग गर्दै उखु किसान आन्दोलित

बाराका उखु किसानहरूले रोग लागेर सुकेका उखु सडकमा ल्याएर जलाउँदै प्रदर्शन गरे ।

बारा — चिनी उद्योगले किसानलाई दिएको ऋण मिनाहा गर्नुपर्ने र सरकारले क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने माग गर्दै बाराका उखु किसानहरूले शनिबार प्रदर्शन गरेका छन् । कलैया उपमहानगरपालिका–२४ स्थित रिलायन्स चिनी उद्योग अगाडि सयौं किसानहरूले आ–आफ्नो खेतमा सुकेको उखुको बोट लिएर प्रदर्शन गरेका हुन् ।

प्रदर्शनको क्रममा किसानहरूले रोगले सुकेको उखु जलाउँदै दिउँसो २ घण्टा कलैया–पिलुवा सडक अवरुद्धसमेत गरे ।

झन्डै ३ सय किसानले प्रदर्शन गर्दै करिब ३ क्विन्टल सुकेको उखु जलाएका हुन् । कलैया १६ विद्यानगरका उखु किसानका अगुवा इन्द्रदेव कुसवाहाका अनुसार बारामा झन्डै पाँच सय किसानले करिब ८ सय बिघामा लगाएको उखु खेती रोगले सुक्दै गएकोले किसानलाई नोक्सानीबाट जोगाउन चिनी उद्योगले उखुको बिउ र औषधिका लागि दिएको ऋण मिनाहासँगै सरकारले किसानलाई क्षतिपूर्ति तिर्नुपर्ने माग गर्दै आन्दोलन सुरु गरिएको छ ।

‘गत साउनदेखि नै चिनी उद्योग र स्थानीय प्रशासन मार्फत सरकारलाई रोगको समस्यासँगै ऋण मिनाहा र क्षतिपूर्तिको लागि अवगत गराउँदै आयौं । तर अहिलेसम्म पटकपटक आश्वासन मात्र पायौं,’ उखु किसान अगुवा कुसवाहाले भने, ‘उद्योगले न ऋण मिनाहा गर्योे नत क्षतिपूर्तिको लागि स्थानीय प्रशासनबाट सरकार समक्ष पहल भयो ।’

कुसवाहाले सडक आन्दोलन गर्नुको विकल्प नरहेकाले आन्दोलन सुरु गरेको पनि बताए । किसानको पीडा र नोक्सानीबारे कसैले पनि वास्ता नगरेको उनको गुनासो छ। ‘मागप्रति सरकार र चिनी उद्योगले अटेर गरे कडा आन्दोलन हुनेछ,’ उनले भने, ‘किसानले उखु खेती गर्न चिनी उद्योगबाट बिउ र उखु रोगविरुद्धको औषधि र बिउको लागि ऋण लिएर उखु खेती गरेका छन् ।’

उखुको बिउ र रोगको प्रकोपबाट उखु जोगाउन किसानहरुले ‘ट्राइको डर्मा र फन्डिसाइड’ र कोराजिन नामको औषधिको लागि ऋण लिएको हो । उखुबाट बढीभन्दा बढी चिनी निकाल्न सकिने सीओ २३८ जातको उखु किसानहरुले लगाएका हुन् । मनहर्वा, श्रीपुर, विद्यानगर, कलैया, भोडाहा, उत्तरझिटकैया, इनर्वा, सिसवा, मदिल्वालगायत दर्जनौं गाउँ आसपासको खेतमा लगाइएको उखु सुक्ने रोगको प्रकोप छ ।

रोगको पहिचान भने भइसकेको छैन । रोग पहिचान गर्न र प्रकोपविरुद्ध औषधि छर्न हालसालै उद्योग वा सरकारको तर्फबाट कृषि प्राविधिक टोली खटेको छैन । तर उखु उत्पादक किसान संघ बाराका अध्यक्ष वीरेन्द्र कुसवाहाले ५ महिना अघि उद्योगले प्राविधिक ‘हायर’ गरेर जाँच गराउँदा त्यो बेला प्राविधिकहरुले ‘रेडरट’ रोगले उखु सुकेको बताए । उनकाअनुसार बारा र पर्सामासमेत यो रोगको प्रकोप पाँच महिनादेखि फैलिँदै आएको छ ।

दुवै जिल्लामा ९ हजार बिघामा साढे ६ हजार किसानले उखु खेती गरेको उनको भनाइ छ । ‘किसानको उखुबाट ऋणको पैसा असुलउपर गरिने सर्तमा उद्योगले किसानलाई ऋण दिँदै र सिकसानले लिँदै आएको उनले बताए । उद्योग स्रोतका अनुसार झन्डै ८ करोड रुपैयाँ उद्योगले बिउ र औषधिमा किसानको लागि ऋण लगानी गरेको छ । किसानले उखु काटेर बिक्री गर्ने समयमा यस्तो रोगको प्रकोप बढेकोले चिनी उद्योग पनि सञ्चालनमा आइसकेको छैन् ।

‘उद्योग पनि जोगियोस्, किसान पनि बाचून् भन्ने हाम्रो उद्देश्य हो,’ उखु उत्पादक किसान संघका अध्यक्ष कुसवाहाले भने, ‘मन्त्रालय र उद्योगको सल्लाहमा बढीभन्दा बढी चिनी निकाल्न सकिने यी सीओ २३८ जातको उखुको खेती गरिएको छ ।’ यो जातको उखु क्रसिङ गर्दा प्रति क्विन्टल उखुमा १३ केजी चिनी निस्कने गरेको छ । यो जातको खेती यही वर्षदेखि सुरु गरिएको हो ।

यसभन्दा अघि ९६६९, दहीचिउरा, ९२२६८, ९२३८ जातको खेती गरिन्थ्यो । जसबाट प्रति क्विन्टल साढे ८ केजी चिनी निस्कने गरेको थियो । ‘त्यसैले यसलाई छाडेर मन्त्रालय र उद्योगले सीओ २३८ जातको खेती गर्न सुझाएका थिए,’ अध्यक्ष कुसवाहाले भने, ‘यो जातको खेती गर्दा रोगको मारमा किसान परेको छ । जति गर्दा रोग नियन्त्रण भएन ।’

तामाङ अक्षय कोष स्थापना हुने

काठमाडौँ — तामाङ राष्ट्रिय पुस्तकालय मातहत रहने गरी ‘तामाङ अक्षय कोष’ स्थापना हुने भएको छ । तामाङ समुदायसँग सम्बन्धित प्रकाशन र अनुसन्धानका लागि कोष स्थापना गर्न लागिएको हो ।

पुस्तकालय व्यवस्थापनका लागि सहयोग प्राप्त भइरहेकोले एक लाख रुपैयाँभन्दा बढी दिने दातालाई संरक्षक बनाएर कोष खडा गर्न लागिएको भाषाविद्‌ एवं तामाङ राष्ट्रिय पुस्तकालयका अध्यक्ष अमृत योञ्जन तामाङले जानकारी दिए ।

‘पुस्तकालयले १ वर्ष पूरा गरेपछि कोष निर्माणका लागि अनुरोध गरौंला भन्ने योजना थियो तर सहयोग धमाधम जुट्न थालेकाले १ लाख रुपैयाँभन्दा बढी रकम दिनेलाई संरक्षक बनाएर सहयोगलाई तामाङ अक्षय कोषमा रुपान्तरण गर्ने निष्कर्षमा पुगेका छौं,’ अध्यक्ष तामाङले भने, ‘१ लाखभन्दा कम सहयोग भने पुस्तकालय व्यवस्थापनमा खर्च गर्छौं ।’

अहिलेसम्म करिब ९ लाख रुपैयाँ नगद जम्मा भइसकेको उनले बताए । अक्षय कोषका लागि टासी लामा, ग्याल्पो योन्जन, तेन्जिङ लामा, जयमंगल लामालगायतले रकम उपलब्ध गराएका छन् । संस्थागत रुपमा नेपाल तामाङ समाज जापानले पनि १ लाख रुपैयाँ उपलब्ध गराएको छ ।

अक्षय कोषको रकम कुन बैंकमा राख्ने र कुन विषयको अनुसन्धानलाई कति रकम उपलब्ध गराउनेजस्ता कार्यविधि कार्यसमिति बैठकले टुंग्याउने पनि उनले बताए ।

यसैबीच, जापानका लागि पूर्वराजदूत गणेश योञ्जनले आफ्नो पिताको नाममा ‘पेमा वाड्गेल लामा स्मृति अक्षय कोष’ स्थापना गर्न ५ लाख रुपैयाँ पुस्तकालयलाई प्रदान गरेका छन् । तामाङ पुस्तकालयको प्रथम वार्षिकोत्सवको अवसरमा शनिबार बौद्धमा आयोजित कार्यक्रममा पूर्वराजदूत योञ्जनले अनुसन्धानार्थ स्थापना हुने कोषका लागि तामाङ राष्ट्रिय पुस्तकालयका अध्यक्ष अमृत योन्जन-तामाङलाई चेक हस्तान्तरण गरेका हुन् । कोषको ब्याजबाट वार्षिकरूपमा अनुसन्धान थालिने अध्यक्ष तामाङले बताए ।

पेमा वाङ्गेल लामा स्मृति अक्षयकोष संरक्षक र पुस्तकालयका अध्यक्षबीच शनिबार नै समझदारीपत्रमा हस्ताक्षर भएको छ । कुन विषयका अनुसन्धानलाई कति रकम दिने भन्ने निर्णय पुस्तकालयले गर्नेछ ।

पुस्तकालयको वार्षिकोत्सवमा स्थापनाकालदेखि १० हजार रुपैयाँभन्दा माथि आर्थिक सहयोग गर्ने १९ जनालाई प्रशंसापत्रद्वारा सम्मान गरिएको छ । पुस्तकालयलाई वाग्मती प्रदेशका निवर्तमान सांसद छिरिङ दोर्जे लामाले ‘सांसद शिक्षा कोष’बाट १० लाख रुपैयाँ बराबरको दराज, टेबल, कुर्सीलगायत फर्निचर उपलब्ध गराएको पनि अध्यक्ष तामाङले बताए ।


Last Updated on: December 10th, 2022 at 10:01 pm


२३७ पटक हेरिएको

तपाईको प्रतिक्रिया