
कांग्रेस र एमाले मिलेर सरकार बनाउनु पर्छ : गच्छदार
प्रकाशित मिति । २३ मंसिर, २०७९ ।
मोरङ — सुनसरी क्षेत्र नं ३ मा पहिलो पटक पराजित भएका कांग्रेस नेता विजयकुमार गच्छदारले मुलुकमा राजनीतिक स्थिरताका लागि कांग्रेस र एमाले मिलेर सरकार बनाउनुपर्ने बताएका छन् । माओवादी केन्द्रले प्रधानमन्त्री नदिए एमालेसँग मिलेर सरकार बनाउनुपर्ने आवाज उठाइरहेको बेला गच्छदारले विराटनगरमा बिहीबार पत्रकार सम्मेलन गरी हालै सम्पन्न निर्वाचनले तेस्रो ठूलो दल भएको माओवादीलाई प्रतिपक्षमा राखेर कांग्रेस र एमालेले साना दलहरुलाई समेटेर सरकारमा जानुपर्ने बताएका हुन् ।
‘२०४८ र २०५१ मा कांग्रेस नेतृत्वको र २०७४ को तत्कालीन नेकपा नेतृत्वको सरकारको बहुमत हुँदा पनि राजनीतिक स्थिरता हुन नसकेको उदाहरण छ,’ उनले भने, ‘त्यसैले यसपटक सत्ता गठबन्धनलाई बहुमत भए पनि ५ वर्ष ढुक्कले सरकार चलाउन र मुलुकमा राजनीतिक स्थिरता कायम गर्न कांग्रेस र एमालेजस्ता ठूला दल मिलेर सरकार बनाउनु पर्छ ।’
अहिलेका नयाँ पार्टीका नेतृत्वहरुले राष्ट्रलाई सर्वोपरी ठानेर देशमा राजनीतिक स्थिरता दिन सक्नुपर्ने गच्छदारको भनाइ थियो । उनले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई पनि आफूले स्थिर सरकारका लागि सघाउन आग्रह गरेको सुनाए ।
‘मुलुकमा राजनीतिक स्थिरताका लागि यादवले सत्ता गठबन्धन नछाडेको भए कांग्रेस नेतृत्वको गठबन्धनको अहिले बलियो सरकार बन्ने अवस्था हुने थियो,’ उनले भने, ‘तर त्यस्तो हुन सकेन त्यसैले अब पनि उपेन्द्र यादवजीले देशमा स्थिर सरकारका लागि गम्भीर बन्नुपर्छ ।’
कांग्रेसमा सरकारको नेतृत्वमा पुस्तान्तरण हुनुपर्ने आवाज उठिरहेको अवस्थामा गच्छदारले नेतृत्वमा पुस्तान्तरण नियमित प्राकृतिक प्रक्रिया भएको तर अहिले पार्टी सभापति शेरबहादुर देउवाले चाहेमात्रै पुस्तान्तरण हुने बताए । मुलुकमा प्रजातन्त्र पुनर्स्थापित भएदेखि सुनसरी-३ बाट लगातार ६ पटक जितेका गच्छदारको सातौं पटकमा अपराजित यात्रामा बिराम लागेको छ ।
हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा उनलाई पराजित गरेर एमालेकी भगवती चौधरी निर्वाचित भएकी छन् ।
गच्छदारले जनाधार नै नभएका माओवादी केन्द्रलाई गठबन्धनको भागबन्डामा ३(१) मा प्रदेशसभा सदस्य उम्मेदवार बनाउनु र सुनसरीमा जनाधार रहेको जनता समाजवादी पार्टी एमालेसँग गठबन्धन हुनु आफू हार्नुको प्रमुख कारण भएको बताए ।
गोरखाको रानीपाखोरीमा मनाइयो य:मरि पुन्हि मेला
गोरखा — गोरखा नगरपालिका ६ रानीपोखरीमा बिहीबार य:मरि पुन्ही विशेष रुपले मनाइएको छ । जिल्लामा पहिलो पटक भएको योमरी मेलामा योमरीसँगै बारा, चटामरी, छोइलालगायत परिकार राखिएको थियो ।
किसानले धान भित्र्याएपछि चामलको पिठो, तिल‚ खुदो मिसाएर बनाएको परिकार योमरी नेवार समुदायमा लोकप्रिय रहेको नेवा देय दवुका जिल्ला अध्यक्ष देवीप्रसाद श्रेष्ठले बताए ।
‘यो परिकार अत्यन्त मिठो हुन्छ । नयाँ धानबाट निकालिएको चामलको पिठोबाट एकतर्फ चुच्चो र अर्को तर्फ ठूलो बनाउने, त्यहाँभित्र तिल र खुँदो हालेर बाफमा पकाएर यो परिकार बनाइएको हुन्छ‚’ उनले भने, ‘धान भित्र्याएपछि यो मिठो परिकार खाएपछि किसानले दुःख भुल्छन्, खुसी हुन्छन् ।’
योमरी स्वास्थ्यका लागि पनि लाभदायक तथा स्वस्थकर हुने उनले बताए । मंसिर शुक्लपूर्णिमाको दिन यःमरि पुन्हि मनाउने प्रचालन रहेको उनले सुनाए । नेपाल संवादको दोस्रो महिनामा य:मरि पुन्हि मनाइँदै आएको छ ।
जो ३० हजारभन्दा बढी मत पाएर पनि पराजित भए
प्रत्यक्षतर्फ सबैभन्दा धेरै मत पाउने उम्मेदवार निर्वाचित हुन्छन् । लोकप्रिय मत पाए पनि निकटतम प्रतिद्वन्द्वीहरू पराजित भएका हुन् ।
काठमाडौँ — काठमाडौं क्षेत्र नं. १ बाट चुनाव जितेका कांग्रेस नेता प्रकाशमान सिंहले जम्मा ७ हजार १४३ मत पाए । काठमाडौं-७ मा विजयी गणेश पराजुलीले पाएको मत पनि ८ हजार ७४३ मात्रै हो । यी मात्रै होइन, काठमाडौंका क्षेत्र नं. ६, ८, ९ र १० मा विजयी उम्मेदवारले पाएको मतसमेत १५ हजार नाघेको छैन । सबैभन्दा कम मत पाएर विजयमी हुनेमा मनाङबाट निर्वाचित कांग्रेसका टेकबहादुर गुरुङ हुन् ।
उनले २ हजार ५७५ मत पाउँदा नै चुनाव जिते भने मुस्ताङका योगेश गौचन थकालीले पनि ३ हजार ९९२ मत ल्याएर चुनाव जिते । बारा-२, रुकुमपूर्व, डोल्पा, हुम्ला र मुगुमा समेत विजयी उम्मेदवारको मत १५ हजार नाघेको छैन ।
त्यसबाहेक २० हजारसम्म मत पाएरै विजयी हुने १३ उम्मेदवार छन् भने २५ हजारसम्म मत पाएर विजयी हुने अरु ३१ उम्मेदवार छन् । तर‚ यही निर्वाचनमा ३० हजारभन्दा धेरै भोट पाएर पनि २१ जना नेताले चुनाव हारेका छन् ।
पाँचथरबाट उम्मेदवार रहेका कांग्रेस सहमहामन्त्री भीष्मराज आङदेम्बेले ३२ हजार ६३ मत पाएर हारे । त्यस्तै, अर्का सहमहामन्त्री महेन्द्र यादवले ३२ हजार ११२ र उमाकान्त चौधरीले ३० हजार ५६ मत पाएर पनि चुनाव हारे ।
नेता कृष्णप्रसाद सिटौलाले ३७ हजार ३८६ र सुजाता कोइरालाले ३१ हजार ९४० मत पाएर पनि चुनाव हारे । एमाले उपमहासचिव प्रदीपकुमार ज्ञवालीले ३२ हजार १५२ मत पाए पनि पराजित भए । नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले ३१ हजार ७९१ मत पाएर पनि पराजित भए ।
गृहमन्त्री बालकृष्ण खाँणले ३४ हजार ३६, पूर्वउपसभामुख पुष्पा भुसालले ४० हजार ९४५, राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले ३५ हजार ८१४ र नेकपा एकीकृत समाजवादीका नेता विरोध खतिवडाले ३० हजार ४३२ मत पाएर पनि चुनाव हारे । प्रत्यक्षतर्फ सबैभन्दा धेरै मत पाउने उम्मेदवार निर्वाचित हुन्छन् । लोकप्रिय मत पाए पनि निकटतम प्रतिद्वन्द्वीहरु पराजित भएका हुन् ।
यसरी ३० हजारभन्दा धेरै मत ल्याएर पराजित हुनेमा कांग्रेसका शिवप्रसाद हुमागाईं, नेकपा माओवादी केन्द्रका नरेन्द्र साह कलवार र नरेन्द्रबहादुर कुँवर, एमालेका कैलाश ढुंगेल, रेशमबहादुर लामा, तिलबहादुर महत क्षेत्री, बृजेशकुमार गुप्ता र ध्रुवकुमार शाही पनि छन् ।