सोमबार २३ माघ २०७९


२०७९ साल मंसिर २३ गते शुक्रवार, आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ । शुभारम्भको चर्चा चल्नेछ । आँटेको काम पुरा नै होला ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) महत्त्वपूर्ण कामको थालनी हुनेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । लक्ष्मी प्रसन्न हुने योग पनि छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्नेछ । प्रेम सम्बन्ध पनि कसिलो हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज यात्रामा मालसामान हराउन सक्छ । ससाना समस्यामा अल्झनुपर्नेछ । क्रोध, प्रतिशोध, रिसराग र उत्तेजना माथि नियन्त्रण गर्नु राम्रो हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज अरुलाई प्रभावित पारेर काम बन्नेछ । रोकिएको धन हात पर्ला । न्यायिक कार्यमा सफलता मिल्नेछ । व्यापारबाट धनलाभ पनि राम्रै हुनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुनेछन् । शेयर बजारको क्षेत्रमा रूचि बढ्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । घरमा अतिथिको आगमन हुनेछ । साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन् । भूमिबाट लाभ नै रहला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । सामान हराउने वा चोरी हुने सम्भावना छ । बन्न लागेको काम बिग्रिनेछ, तर वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज ठीक समयमा सही निर्णय लिन सकिनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ । लाभदायक यात्रा हुनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) भाग्यले विभिन्न अवसर जुराउनेछ । कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । पारिवारिक साथ पनि मिल्ने देखिन्छ । स्वास्थ्यमा लाभ मिल्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज रोकिएका काम पुनः सुरु हुन सक्छन् । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । लाभदायक यात्रा होला । आर्थिक कारोबारमा सफलता पाइएला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज सरकारी निकायको भय रहला । व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ, तर कुनै कुराले मन खुसी हुने र साँझमा शुभ समाचार पनि पाइनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

तीन वटा प्रदेशमा कसको सरकार भन्‍नेमा अन्योल

काठमाडौँ — पहिलो पटक भएको प्रदेशसभा चुनावमा परिणाम आउनेबित्तिकै कसको सरकार बन्छ भन्ने स्पष्ट थियो । सातमध्ये ६ प्रदेशमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको वामपन्थी गठबन्धन र मधेस प्रदेशमा तत्कालीन मधेसवादी गठबन्धनको सरकार बन्ने निश्चित थियो । यसपटकको निर्वाचन परिणाम झनै खण्डित आएको छ ।

सत्तारुढ गठबन्धन निरन्तरता हुँदा वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिममा गठबन्धनकै सरकार बन्ने भए पनि प्रदेश १, मधेस र लुम्बिनीमा भने अन्य दलहरुको पनि सहयोग लिनुपर्ने हुन्छ ।

प्रदेश १ मा जसपा निर्णायक

प्रदेश १ मा सबैभन्दा ठूलो राजनीतिक दल नेकपा एमाले रहे पनि सरकार बनाउनका लागि समानुपातिकतर्फ १ सिट प्राप्त गरेको जनता समाजवादी पार्टी (जसपा) निर्णायक हुने देखिन्छ । एमालेको ४० स्थान रहेको छ । तर बहुमतका पुर्‍याउनका लागि ७ स्थानमा अपुग रहेको छ । ९३ सदस्यीय प्रदेशसभामा सरकार बनाउन ४७ सांसद आवश्यक हुन्छ। चुनावी तालमेल गरेको राप्रपाले ६ स्थानमा प्राप्त गरे पनि १ सिट अपुग हुन्छ ।

जसका लागि जसपा निर्णायक हुने देखिएको छ । यसै साता जसपाका अध्यक्ष उपेन्द्र यादवले एमालेसँगको सहकार्य चुनावीसँगै सकिएको बताएपछि एमालेलाई बहुमत जुटाउनका लागि समस्या पर्ने संभावना देखिन्छ ।

तर कांग्रेस २९ सिटसहित प्रदेशसभामा दोस्रो स्थानमा छ । तेस्रो स्थानमा रहेको माओवादी केन्द्रको १३ सिट छ । एकीकृत समाजवादीको ४ सिट छ । सत्तारुढ गठबन्धनको बहुमतका लागि जसपाकै समर्थन आवश्यक हुन्छ । नेकपा एमालेका स्थायी कमिटी सदस्य हिक्मत कार्कीले सरकार गठनको विषयमा अन्य पक्षहरुसँग पनि छलफल भैरहेको बताए ।

‘राष्ट्रिय राजनीति कसरी जान्छ भनेर हेरिरहेका छौं । हामी ठूलो दल भएर ४० सिट हुँदा सरकार बन्दैन । तर हामी विचार सिद्धान्त छाडेर सत्ताका लागिमात्रै गठबन्धन गर्ने छैनौं,’ कार्कीले भने, ‘प्रदेशको गठबन्धनको निर्णय पनि केन्द्रबाटै हुन्छ ।’ २०७४ सालको चुनावमा नेकपा एमालेले सो प्रदेशमा एकल बहुमत ल्याएको थियो ।

मधेसमा सरकार बनाउन ‘महागठबन्धन’

मधेस प्रदेशमा सरकार बनाउनका लागि ‘महागठबन्धन’ आवश्यक पर्ने देखिन्छ । १ सय ७ सदस्यीय प्रदेशसभा रहेको मधेसमा २३ स्थानमा जित्दै एमाले सबैभन्दा ठूलो दल बनेको छ । तर सो दललाई बहुमत पुर्‍याउनका लागि अझै ३१ सिट अपुग हुनेछ । केन्द्रमा कायम रहेको कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र लोसपाको गठबन्धनको ४६ स्थान रहेको छ । सो गठबन्धनलाई सरकार बनाउनका लागि अन्य दलको समर्थन आवश्यक हुन्छ ।

मधेस प्रदेशमा ६ स्वतन्त्र सांसद रहेका छन् । समानुपातिकतर्फ १० वटा दलको प्रतिनिधित्व रहेको छ । जसमा जसपाको १६, जनमतको १३, नेपाल संघीय समाजवादी, राप्रपा र नागरिक उन्मुक्ति पार्टीको १-१ स्थानमा रहेको छ । जसपाका महामन्त्री मनिष सुमनले प्रदेशमा प्राप्त जनादेशले धेरै दलहरु मिलेरमात्रै सरकार बन्ने अवस्था रहेको बताए ।

‘अहिले मधेस प्रदेशमा हामीले प्राप्त गरेको जनादेशले ५ वर्षभित्र ४-५ वटै सरकार बन्छ कि भन्ने देखिन्छ । हामीले प्राप्त गरेको जनादेश भनेको विपक्षीमा बस्ने हो । तर, हामी विपक्षमा बस्दा सरकार नबन्ने प्रदेशसभा विघटन हुने अवस्था हुन्छ,’ सुमनले भने, ‘एमाले ठूलो दल भए पनि सरकार बनाउने लागि ठूलो संख्या समर्थन आवश्यक पर्छ । सत्तारुढ गठबन्धनसँग पनि बहुमत पुर्‍याउने संख्या छैन । त्यसमा धेरै वटा पार्टी मिलेरमात्रै सरकार बन्छ । हामी प्रदेशसभा तत्कालै विघटन नहोस भन्ने पक्षमा छौं ।’

सुमनका अनुसार जसपाले अहिले नै के गर्ने भन्ने विषयमा प्रस्ट भइनसकेको बताए । ‘अहिले केन्द्रमा के निर्णय हुन्छ त्यसलाई हेरेर बसेका छौं’ सुमनले भने, ‘बाहिर बसेरमात्रै सरकारलाई समर्थन गर्न सक्छौं ।’

लुम्बिनीमा सकस

लुम्बिनी प्रदेश सरकार निर्माणका लागि कुनै पनि दल र गठबन्धनसँग आवश्यक संख्या पुग्दैन । प्रदेशसभा नेकपा एमाले सबैभन्दा ठूलो राजनीतिक दलको रुपमा रहेको छ । एमालेको २९ र कांग्रेसको २७ सिट भएको छ । त्यस्तै माओवादीको ९ र लोसपाको ३ स्थान रहेको छ भने राष्ट्रिय जनमोर्चा र एकीकृत समाजवादीको १/१ स्थानमा रहेका छन् ।

सरकार बनाउन सत्तारूढ गठबन्धनलाई ३ सिट अपुग हुन्छ । जसपाका महासचिव सुमनले लुम्बिनी प्रदेशमा समेत आफ्नो संख्या सरकार निर्माणका लागि महत्वपूर्ण भएको बताए ।


Last Updated on: December 9th, 2022 at 6:00 am


तपाईको प्रतिक्रिया