मंगलबार १६ आश्विन २०८०
https://www.highrevenuegate.com/df70x27m?key=a4489bb3ce2c074750f89527257a9f0f


भरतपुर विमानस्थलमा नयाँ टर्मिनल भवन बन्ने

प्रकाशित मिति । २२ मंसिर, २०७९ ।

चितवन | भरतपुर विमानस्थलमा नयाँ टर्मिनल भवन बन्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले नयाँ टर्मिनल भवन निर्माण गर्न लागेको हो । यात्रुको चाप हुने यो विमानस्थल विस्तारका लागिसमेत प्रक्रिया अघि बढाइएको छ ।

प्राधिकरणले टर्मिनल भवनका लागि बोलपत्र आह्वान गरी प्राविधिक मूल्याङ्कनको क्रममा छ । प्राधिकरणका इञ्जिनीयर नलविक्रम थापाका अनुसार ६ वटा कम्पनीको बोलपत्र पेस भएको छ ।

ती प्रस्तावको प्राविधिक मूल्याङ्कनपछि आर्थिक प्रस्तावबाट अन्तिम टुङ्गो लगाएर सम्झौता गरिने छ । उहाँको भनाइमा पुस महिनाका अन्तिम सातासम्ममा सम्झौता भइसक्छ । बोलपत्रको रकम रु दुई अर्बको हाराहारी रहेको भन्दै उहाँले एकिन रकम आर्थिक प्रस्तावपछि थाहा हुने बताउनुभयो । तीन वर्षभित्रमा सम्पन्न गर्ने गरी सम्झौता गरिने छ ।

अत्याधुनिक किसिमको ७ हजार सात सय ४९ वर्गमिटर क्षेत्रफलमा भवन निर्माण गरिने छ । यससँगै टावर हुनेछ । विमानस्थलको धावन मार्ग विस्तार हुँदासमेत काम गर्ने गरी टर्मिनल भवन बनाउन लागिएको हो ।

नेपाली सेनाको गण र घोडा प्रजनन केन्द्रलाई स्थानान्तरण गरी विमानस्थलको धावन मार्ग विस्तार गर्ने योजना रहेको छ । नेपाली सेनासँग प्राधिकरण छलफलमा रहेको थापाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “विमानस्थलको धावनमार्ग विस्तार हुँदासमेत काम गर्ने गरी टर्मिनल भवन बनाउन लागिएको हो ।”

हाल धावनमार्गको उडान र अवतरण हुने क्षेत्रमा अग्ला घर भएका कारण जहाजले कम यात्रु मात्रै बोक्ने गरेका छन् । धावनमार्ग विस्तारसँगै ठूला जहाज उडान गर्न सकिने र रात्रिकालीन उडानसमेत हुनेछन् । भरतपुर महानगरपालिकाले यो विमानस्थललाई विस्तार गर्न पटक–पटक महानगरपालिकामै छलफल गरिसकेको छ ।

महानगर प्रमुख रेनु दाहालले प्राधिकरण र नेपाली सेना सकारात्मक रहेकाले विमानस्थल विस्तारको काम हुनेमा आफू ढुक्क रहेको बताउनुभयो । नेपाली सेनालाई वैकल्पिक ठाउँको व्यवस्था महानगरले गर्नका लागि विभिन्न ठाउँ प्रस्तावसमेत गरिसकेको छ ।

छोटो धावन मार्ग र वरिपरि घर भएकाले दुर्घटना हुन नपाओस् भन्नका लागि धावनमार्ग विस्तार गर्न सरोकारवालाले निरन्तर दबाब दिँदै आएका छन् । यहाँबाट काठमाडौँ, पोखरा र भैरहवा उडान हुँदै आएको छ ।

हाल बुद्ध र गुण एयरले दैनिक १० हाराहारी उडान गर्दै आएका छन् । सन् २०२१ मा यहाँबाट आवतजावत गर्नेको सङ्ख्या ११ लाख ७६ हजार थियो । (रासस)

ज्यापु समुदायको कलाकृति र रहनसहनको संरक्षण गर्नु साझा दायित्व : प्रधानमन्त्री

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले ज्यापु समुदायको परम्परा, कलाकृति र रहनसहनको संरक्षण गर्नु साझा दायित्व भएको बताएका छन् । बिहीबार ज्यापु संस्कृति विकास कोषले १९ औँ राष्ट्रिय ज्यापु दिवसको अवसरमा काठमाडौंमा आयोजना कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले ज्यापु समुदायको धार्मिक, सांस्कृतिक परम्परा, कलाकृति, शिल्प र रहनसहनको संरक्षण गर्नु साझा दायित्व भएको बताएका हुन् । 

प्रधानमन्त्री देउवाले ज्यापु समुदायका जात्रा, पर्व, सांस्कृतिक गतिविधिहरु, कला र कौशलहरु राष्ट्रको अमूल्य निधि भएको उल्लेख गर्दै त्यसको संरक्षण गर्नुपर्ने बताए। सम्पदा र संस्कृतिहरुको जगेर्ना गर्नु सबैको कर्तव्य भएको उनको भनाइ छ ।

‘काठमाडौं उपत्यकाको कला, संस्कृति र सभ्यताको विकासमा ज्यापु समुदायको, ज्यापु समाजको उल्लेखनीय योगदान छ । ज्यापु समुदायका जात्रा,पर्व, सांस्कृतिक गतिविधिहरु, कला, कौशल नेपालका अमूल्य निधि हुन् । ज्यापु समुदायका धार्मिक, सांस्कृतिक परम्परा, कलाकृति, शिल्प र रहनसहनको संरक्षण गर्नु हाम्रो साझा दायित्व हो ।

यस्तो महत्वपूर्ण संस्कृति र सम्पदालाई संरक्षण गर्नु, विलिन हुनबाट जोगाउनु हाम्रो कर्तव्य हो । राष्ट्रिय ज्यापु दिवसको माध्यमबाट नेपालको आर्थिक तथा सामाजिक विकासमा ज्यापु समुदायले पुर्‍याउँदै आएको योगदानलाई सबै समक्ष उजागर गर्दै मुलुकको संस्कृति,परम्परा, रहनसहनलाई संवद्र्धन र प्रवर्द्धन गर्न मद्दत पुर्‍याउने विश्वास लिएको छु,’ उनले भने ।

उपत्यकाका ज्यापु समुदायले न्युनतम आर्थिक तथा नैतिक सुविधाका बीचमा पनि आफ्ना मौलिक परम्परा र संस्कृतिलाई बचाइराखेको भन्दै प्रधानमन्त्री देउवाले प्रशंसा गरे । सो समुदाय आफ्नै प्रकारको विशिष्ट र मौलिक पहिचान बोकेको मेहनती र इमान्दार समुदायको रुपमा परिचित रहेको उनको भनाइ थियो । प्रधानमन्त्री देउवाले कृषि अर्थतन्त्रको विकासमा पनि ज्यापु समुदायको महत्त्वपूर्ण भूमिका रहेको बताए ।


Last Updated on: December 8th, 2022 at 2:23 pm


१६१ पटक हेरिएको

तपाईको प्रतिक्रिया