
सुवाल इन्टरनेसनल कलेज सञ्चालक पक्राउ
प्रकाशित मिति । १९ मंसिर, २०७९ ।
काठमाडौँ — अवैध शिक्षणसंस्था संचालन गरी विद्यार्थी अभिभावबाट शुल्क असुल्ने सुवाल इन्टरनेशनल कलेज सुर्यविनायक भक्तपुरका संचालक प्रकाश सुवाललाई भक्तपुर प्रहरीले नियन्त्रणमा लिएको छ ।
विद्यार्थीले प्रहरी वृत्त जगातीमा जाहेरी दिएपछि उनलाई नियन्त्रणमा लिएको भक्तपुर प्रहरीका डिएसपी राजु पाण्डेले जानकारी दिए । ‘बिहान आरोपीलाई सोधपुक्षका लागि बोलाएका थियौं, दिउँसो कलेजका दुई जना विद्यार्थीले जाहेरी दिनुभयो, त्यसपछि नियन्त्रणमा लिएका हौं,’ उनले भने, ‘अब ठगी अन्र्तगत मुद्दा दर्ता गरेर अनुसन्धान अघि बढ्छ ।’ दुई छात्रछात्राले दिएको जोहरीमा उक्त कलेजका एक सय भन्दा बढि विद्यार्थीले हस्ताक्षर समेत गरेको प्रहरीले जनाएको छ ।
मंगलबार कान्तिपुरले भक्तपुरको सूर्यविनायक घतालेमा नियामक निकायको अनुमति र सम्बन्धन बिनै सुबाल इन्टरनेशनल कलेज स्थापना गरेर विद्यार्थी भर्ना गरी शुल्क असुलेको समाचार प्रकाशित गरेको थियो । समाचारबाट विद्यार्थीले अवैध रहेको थाहा पाएपछि बिहानै कलेजमा घेराउ गरेका थिए ।
अभिभावकहरु समेत कलेज पुगेपछि जगाती प्रहरीले उनलाई सोधपुक्षको लागि बोलाएको थियो । विद्यार्थी समेत प्रहरी वृत्त पुगेर नाराबाजी गरेका थिए । ‘कलेज संचालकले कम्पनी रजिष्ट्रार कार्यालयमा संस्था दर्ता गरेको बाहेक शैक्षिक कार्यक्रम संचालन गर्न पाएको कुनै पनि अनुमति देखाउन सक्नुभएन,’ एक अभिभावकले कान्तिपुरसँग भने, ‘शिक्षणसंस्था संचालन गर्ने अनुमति बिनै विद्यार्थी भर्ना गराएर शुल्क लिएको थाहा पाएपछि प्रहरीमा जाहेरी दिइएको हो ।’
कलेजले नर्सिङ, फार्मेसी र एचएमा २ सय ७० जना भन्दा धेरै विद्यार्थी भर्ना गरेर शुल्क उठाएको पाइएको छ । संचालक सुबालले अमेरिकी विश्वविद्यालयबाट सम्बन्धन लिएको दाबी गर्दै नर्सिङ, फार्मेसी र एचएमा पठनपाठन थालेका थिए भने इन्जिनियरिङ, चिकित्सा शिक्षा लगायतमा भर्नाका लागि सूचना आह्रवान गरेको छ ।
प्रति विद्यार्थी ७५ हजारको दरले शुल्क लिएर २ करोडभन्दा बढि जम्मा गरेको अनुमान गरिएको छ । उक्त कलेज संचालनमा रहेको बारे शिक्षा मन्त्रालय, त्रिभुवन लगायतका विश्वविद्यालय, सीटीईभीटीले अनविज्ञता जनाएका छन् । यी मध्ये कुनै एक निकायको स्वीकृति बिना कलेज संचालन गर्ने व्यवस्था छैन ।
भर्ना भएका विद्यार्थीसँग ३ लाख ५० हजारको दरले पढाई शुल्क लिने संचालकको तयारी रहेको थियो । भर्ना हुनेमा अधिकांश कर्णाली र सुदुरपश्चिमका विद्यार्थी छन् । एचए, फार्मेसी, नर्सिङ पढाउन सीटीईभीटीले मात्रै सम्बन्धन दिने गरेको छ । कुनै विदेशी विश्वविद्यालयबाट सम्बन्धन पाएपनि पठनपाठनका लागि शिक्षा मन्त्रालयको स्वीकृति लिनुपर्ने व्यवस्था छ ।
बिदेशी सम्बन्धनमा स्थापित कलेजले समकक्षताको लागि त्रिविको पाठ्यक्रम विकास केन्द्रमा सुचीकृत हुनुपर्छ । तर सुबाल कलेलजे स्वीकृति पनि नलिएको शिक्षा मन्त्रालयले जनाएको छ । समकक्षताको लागि शिक्षा मन्त्रालयको सिफारिसमा केन्द्रमा सुचीकृत पनि नभएको पाइएको हो । कलेजले गत कात्तिक २० गतेबाट कक्षा संचालन गर्न सुरु गरेको थियो ।
‘धन्न कलेज अवैध रहेको बेलैमा थाहा पाएर विद्यार्थी बिचल्ली हुनबाट जोगिए,’ ती अभिभावकले पढें, ‘पढाई सकिसकेपछि प्रमाणपत्र नपाउने अवस्था भएको भए, विद्यार्थीको भविष्य नै बर्बाद हुने थियो ।’
त्यस्तै अखिल क्रान्तिकारीले मंगलबार कलेजमा ताला लगाएको छ । नेत्रविक्रम चन्द्र विप्लब निकट क्रान्तिकारीले विज्ञप्ति प्रकाशित गरेर सधैका लागि बन्द गर्न ताला लगाइएको जनाएको छ ।
ताला लगाउन पुगेका क्रान्तिकारीका कार्यकर्ताले कलेज तोडफोड समेत गरेका थिए । क्रान्तिकारीले अनुमति बिनै विद्यार्थी भर्ना गरेर कलेज संचालकले शैक्षिक अपराध गरेकाले छानविन गरी कारवाही गर्न माग समेत गरेको छ । विद्यार्थीबाट उठाएको रकम फिर्ता भर्न समेत माग गरिएको छ । ‘कलेजमा तालाबन्दी गरी पूर्ण रुपमा सधैंका लागि बन्द गरिदिएको छ,’ विज्ञप्तिमा भनिएको छ ।
चिकित्सा आयोगले भन्यो- ‘अनुमति नपाएका कलेजमा भर्ना नहुनू’
भक्तपुरमा सुवाल इन्टरनेसनल कलेजले अनुमति बिना विद्यार्थी भर्ना गरेर पठनपाठन थालेको थियो ।
काठमाडौँ — चिकित्सा शिक्षा आयोगले अनुमति प्राप्त नगरेका शिक्षण संस्थामा भर्ना नहुन विद्यार्थी र अभिभावकलाई सचेत गराएको छ ।
आयोगले विज्ञप्ति प्रकाशन गर्दै केही शिक्षण संस्थाले अनुमति बिना नै विद्यार्थी भर्ना लिएकोमा ध्यानार्कषण भएको जनाएको हो ।
भक्तपुरको सूर्यविनायकस्थित सुवाल इन्टरनेशनल कलेजले नर्सिङ, फार्मेसी, एचए लगायत विषयमा करिब ३ सय विद्यार्थी भर्ना गरेको सार्वजनिक भएको थियो । अवैध शिक्षण संस्था संचालन गरी विद्यार्थी अभिभावबाट शुल्क असुल्ने कलेजका प्रिन्सिपल/संचालक प्रकाश सुवाललाई भक्तपुर प्रहरीले नियन्त्रणमा लिएको छ ।
यी विषयको पठनपाठन गराउन आयोगबाट अनुमति लिनुपर्ने प्रावधान छ भने सिट निर्धारण समेत आयोगले गर्ने व्यवस्था छ । तर सुवाल कलेज संचालनमा रहेको विषयमा शिक्षा मन्त्रालय, आयोग, सीटीईभीटी, त्रिभुवन विश्वविद्यालय लगायत नियामक निकायले अनविज्ञता जनाउँदै आएका छन् । आयोगका सदस्यसचिव भोजराज काफ्लेले अनुमपति बिना संचालित शिक्षण संस्थालाई सम्बन्धित निकायबाट कारबाही हुने चेतावनी दिएका छन् ।
सुवाल प्रहरी नियन्त्रणमा रहे पनि कलेजका कर्मचारीले विद्यार्थीलाई अनुमति लिने प्रक्रियामा रहेको भन्दै पठनपाठनलाई निरन्तरता दिने आश्वसन दिँदै आएका छन् । कानुनत: अनुमतिपछि कलेज स्थापना गरेर मात्रै भर्ना, पठनपाठन लगायत गतिविधि अघि बढाउन पाइन्छ ।
संचालक सुवालले अमेरिकी विश्वविद्यालयबाट सम्बन्धन लिएको दाबी गर्दै नर्सिङ, फार्मेसी र एचएमा पठनपाठन थालेका थिए भने इन्जिनियरिङ, चिकित्सा शिक्षा लगायतमा भर्नाका लागि सूचना आह्वान गरेको छ । प्रति विद्यार्थी ७५ हजारको दरले शुल्क लिएर २ करोडभन्दा बढी जम्मा गरेको अनुमान गरिएको छ ।
भर्ना भएका विद्यार्थीसँग ३ लाख ५० हजारको दरले पढाइ शुल्क लिने संचालकको तयारी रहेको थियो । अवैध कलेज संचालन गरेको थाहा पाएपछि नेत्रविक्रम चन्द्र निकट अखिल क्रान्तिकारीले तोडफोड गर्दै तालाबन्दी समेत गरेको छ ।