सोमबार २३ माघ २०७९


हुनेवाला दुलहाको चिठी – गंगा कसजू

म भन्ने गर्थें– विचार मिल्ने केटासँग बिहे गर्छु । भाउजूले सोध्नुभयो– कस्तो लाग्यो तपाईंको दुलहा ? मैले ‘राम्ररी देखिनँ’ भनें ।

श्री आदरणीय विनय सर, अटुट सम्झना र भावपूर्ण श्रद्धा’ञ्जली 

केही दिन भयो तपाईंको धेरै सम्झना आइरहेको छ । मलाई सधैंका लागि छाडेर जानुभएको दिन नजिक आएर पनि होला, तपाईंको यादले सताइरहेको । तपाईंसँग विछोड भएको दिनको याद आउँदा मलाई सधैं पीडाबोध हुनुका साथै विक्षिप्त तुल्याउँछ ।

आँखाबाट बलिन्द्रधारा बग्नुका साथै भक्कानिन पुग्छु म । तपाईंलाई बचाउन नसकेकामा ग्लानि महसुस गरिरहन्छु । आज म तपाईंको अन्तिम दिनको विषय खोतल्न चाहन्नँ, बरु तपाईंसँग पहिलो भेट भएको दिनको सम्झना गर्न चाहन्छु । यही सम्झना सबैलाई साझा गर्न चाहन्छु ।

२०३२ सालमा मेरा कान्छा दाइ डा. कृष्णचन्द्र राजभण्डारी भैरहवा ब्यारेकमा गुल्मपति हुनुहुन्थ्यो । उहाँले पाल्पा तानसेनको एक जना मित्रलाई आफ्नी बहिनीको विवाहका लागि सज्जन खालको कुमारको खोजी गर्न अनुरोध गर्नुभएको रहेछ । मित्रले तानसेननिवासी विनयकुमार कसजूको नाम बताउनुका साथै उहाँबारे विस्तृत परिचय पनि दिनुभएछ । विनय सरबारे सुन्नु भएपछि दाइलाई एकदमै मन परेछ । र, मित्रलाई भेट्ने व्यवस्थाका लागि अनुरोध गर्नुभएछ ।

दाइको मित्र हुनुहुन्थ्यो तानसेन मखनटोलनिवासी कप्तान रामबहादुर थापा । उहाँ त्यतिबेला भैरहवा भन्सारमा कार्यरत हुनुहुन्थ्यो । २०३२ सालको श्रावणबाट कप्तान थापाको विनय सरसँग पत्राचार हुन थालेछ । उहाँले विनय सरलाई लेखेका चिठीमा वागलुङ निवासी एक जना महाशयले आफ्नो प्यारो वस्तु तपाईंलाई दिन चाहनुभएको छ भनेर लेख्नुभएको रहेछ ।

विनय सर के होला भनी एकछिन घोत्लिनुभएछ, पछि पुस्तकहरू होला भन्ने सोच्नुभएछ । किनभने उहाँ र कप्तान राम थापाबीच तानसेनको धवल पुस्तकालयमा बराबर भेटघाट भइराख्दो रहेछ ।

कप्तान थापाले अरू कसैसँग दसैंमा विनय सरको बिहे पक्का भएको सुन्नुभएछ । फेरि दसैं सकिएपछि बिहे नभएको कतैबाट थाहा भएछ । त्यसपछि विनय सरसँग सोधपुछ गर्दा बिहे नहुने जानकारी पाएर आफ्नो प्रस्ताव राख्नुभएछ । कन्या र कुमारको प्रत्यक्ष देखभेटपछि कुरा अगाडि बढाउने समझदारी बनेछ । र, मलाई वागलुङबाट भैरहवा बोलाउनुभयो । म आएँ । २०३२ पुसको १९–२० तिर आएँजस्तो लाग्छ, केही दिनमा भेटघाटको कार्यक्रम बन्यो ।

भेटघाटका दिन भैरहवाको मेरो शिक्षिका साथी माया थापा आउनुभएको थियो । म उहाँसँगै बसिरहेकी थिएँ । उहाँहरू आइपुगेपछि दाइ–भाउजू बाहिर बरन्डामा निस्कनुभयो । त्यहाँ विनय सरसँगै उहाँकी कान्छी आमा अमृत, मामाका छोरा रवीन्द्र लाकौल, साथी चिरञ्जीवी प्रधान र बहिनी अनुमति थिए ।

सबै जना त्यहीँ बसेर कुराकानी गर्न थाल्नुभयो । भित्र बसिरहे पनि मेरो ध्यान भने बाहिरै थियो । बाहिरको सबै कुराकानी भित्र सुनिन्थ्यो । भाउजूले मेरो परिचय दिँदा धेरै प्रशंसा गरेर कुरा गर्नुभएको सुन्दा मलाई संकोच लाग्यो । त्यसपछि मलाई बोलाउनुभयो, म गएर सबैलाई नमस्ते गरें, भाउजूले भित्र जान भन्नुभएपछि म कोठामा आएर बसें ।

उहाँहरूबीच कुराकानी भइरह्यो । त्यहीबीचमा मलाई फेरि बोलाउनुभयो र गएँ । विनय सरले फेरि हेर्छु भन्नुभएको रहेछ । दोस्रो पटक जाँदा लाज लागेर कसैसँग आँखा जुधाएर हेर्न सकिनँ, तलतिर हेर्दै उभिइरहें । भाउजूले फेरि भित्र जानू भन्नुभएपछि म भित्र आएँ ।

त्यसबीचमा के कुराकानी भयो, राम्ररी सुनिएन । एकैचोटि बिहे कहिले गर्ने भन्नेबारे छलफल भएको सुनियो । यो सुन्दा खुसीसँगै डर पनि लागेर आयो । हातखुट्टा नै गलेर आयो । उहाँहरू हिँडेपछि भाउजू भित्र आएर सोध्नुभयो– कस्तो लाग्यो तपाईंको दुलहा ? मैले ‘राम्ररी देखिनँ’ भनें । त्यसपछि आँगनमा पुगेका विनय सरलाई देखाउँदै भन्नुभयो, ‘एकदम राम्रो लाग्यो केटा त, कम बोल्ने रहेछ ।’

म भन्ने गर्थें, ‘विचार मिल्ने केटासँग बिहे गर्छु ।’ बिहे हुने केटासँग कुरा गरेर मात्रै बिहे गर्छु, तर त्यस्तो हुने देखिएन । विनय सरकी कान्छी आमा पनि हुनुभएर हो कि, मेरो भाउजूले कुराकानी गर्दा मलाई सँगै राख्नुभएन ।

भेटघाटको दुई दिनपछि दाइले मलाई एउटा चिठीको खाम दिँदै भन्नुभयो, ‘तिम्रो हुनेवाला दुलहाको चिठी ।’ चिठी पाउँदा खुसी लाग्यो । संकोच मान्दै चिठी लिएर पढ्न थालें । मेरो जीवनमा केटामान्छेबाट पाएको त्यो नै पहिलो चिठी थियो । तर, चिठी भने सामान्य प्रेमपत्र थिएन, गहन विषयहरूको सँगालो थियो । धेरै पटक दोहोर्‍याएर पढें ।

चिठी पढेपछि मैले पाउने जीवनसाथी सामान्य हुनुहुन्न भन्ने लाग्यो । मलाई उहाँको जीवनसाथी बन्ने योग्यता पुग्दैन कि भन्ने बनायो । म प्रगतिशील विचारमा आस्था राख्थें, तर त्यसबारे गहिरो अध्ययन थिएन । उहाँले चिठीमा परम्परा, अन्धविश्वास र कुरीति, धर्ममा भएको ढोङबारे आफ्नो मान्यता स्पष्ट रूपमा राख्नुभएको थियो ।

धार्मिक अनुष्ठान, पूजापाठमा विश्वास नगर्ने उहाँका कुराले मन छोयो । त्यस्तै धनसम्पत्तिको विषयका विचार पनि मननयोग्य लाग्यो । परिवार र समाजमा यी विषयलाई लिएर संघर्ष छ भन्नुभएको थियो । उहाँका सबै मूल्यमान्यतालाई स्वीकार गरेर मैले उहाँसँग विवाह गर्ने निर्णय गरें ।

विनय सरकी आमा पूजाआजा, धर्मकर्म गर्नुहुन्थ्यो । आमा बित्नुभएपछि घरमा नित्य पूजा गर्न छोड्यौं । २०४० सालपछि घरमा र बाहिर कतै पनि पूजा पाठ गर्न छाडिदियौं । विनय सरले आमा नभएपछि पूजापाठ नगर्ने कुरा आमालाई भन्ने गर्नुहुन्थ्यो । त्यसैले उहाँकी आमाले आफू बाँचेकै बेला सबै दान गरिसक्नुभएको थियो ।

छोराहरूको व्रतबन्ध, कुनै पनि धार्मिक अनुष्ठान गरेनौं । विनय सर आफ्नो शवलाई श्रद्धाञ्जलीका लागि नराखी सामान्य तरिकाले विद्युतीय माध्यमबाट अन्त्य गर्नू, धेरै मलामी बोलाएर दुःख नदिनू भन्नुहुन्थ्यो । त्यसैले उहाँको अन्त्येष्टि कार्य पनि उहाँको इच्छाअनुसार गर्‍यौं, सनातन तरिकाले गरेनौं ।

लामो यात्रामा जीवनमा मैले विनय सरलाई असल श्रीमान्, असल साथी, असल अभिभावक र असल गुरुको रूपमा पाएँ । उहाँ बहुमुखी प्रतिभा भएको बहुआयामिक व्यक्तित्व हुनुहुन्थ्यो । उहाँ ज्ञानको समुद्रजस्तै लाग्थ्यो । भाषालाई माया गर्ने साहित्यप्रेमी, समाजसेवी, क्रियाशील असल नागरिक हुनुहुन्थ्यो । जुन–जुन क्षेत्रमा उहाँले काम गर्नुभयो, ती सबैमा क्षेत्रमा कुशल, इमानदार र सफल हुनुभयो ।

मितिः २०३२–९–२९

सुश्री गंगादेवी राजभण्डारी

सम्झना

एक जना अपरिचित व्यक्तिबाट अचानक यो चिठी पाउँदा तपाईंलाई आश्चर्य लाग्ला, तर मेरो विचारमा अब हामी अपरिचित छैनौं किनभने जीवनसाथी छान्ने सन्दर्भमा मेरोबारेमा धेरै कुरा तपाईंलाई थाहा भैसकेको होला र मलाई पनि केही कुरा थाहा भएको हुनाले साथै केही दिनअघि मात्र हाम्रो देख भेट पनि भएको हुनाले अब हामी अपरिचित छैनौंजस्तो लाग्छ । सुनेको कुरामा मात्र विश्वास नगरी आपसी विचार आदान प्रदान र पत्र व्यवहार भयो भने जीवनसाथी छान्न सजिलो होला र भविष्यमा जीवन सुखी बन्ला भन्ने विचारले मैले पत्र व्यवहार गर्न चाहेको हुँ ।

यसमा अन्यथा नसम्झनुहोला । साथै शिक्षित व्यक्तिले संरक्षकको खटनमा मात्र जीवनसाथी रोज्नु उचित नलागेको हुँदा पनि पत्र व्यवहारमा तपाईंले संकोच मान्नुहुनेछैन भन्ने आशा राखेको छु । आशा तथा विश्वास छ कि पत्रोत्तर अवश्यै पाउनेछु ।

हाम्रो भेट अथवा देखादेखको जुन कार्यक्रम भयो, त्यो त्यसप्रकारले होला भन्ने चिताएको थिइनँ । मेरो विचारमा टेबुलवरिपरि बसेर कुराकानी र विचारविमर्श होला भन्ने लागेको थियो र उमंग थियो । साथै शिक्षण पेसामा लागिसकेकी हुँदा कस्तो कुरा होला भन्ने मनमा संकोच पनि थियो ।

त्यहाँ पुगेपछि बादलभित्रको चन्द्रमाझैं झलाकझुलुक्क मात्र देख्न पाइएला भन्ने सोचेको थिइनँ । भाउजूको व्यवहार जति खुला भए पनि यस काममा उहाँले खुला हुन सक्नुभएन अथवा तपाईं स्वयं पर्दामा रहेर बस्न खोज्नुभएकाले हो कि ?

वास्तवमा तपाईंलाई हेर्नु मेरो उद्देश्य थिएन । हेर्नलाई त फोटो छँदै थियो । मैले २/४ कुरा गर्न खोजेको थिएँ । मेरो विचारमा शारीरिक सौन्दर्य अथवा रूपभन्दा भित्री सौन्दर्यको बढी महत्व छ । शीप र शील भएन भने बाहिरी रूपले के हुन्छ र ?

मेरो विचारमा हामी परम्परावादी हुनु हुँदैन । किनभने हाम्रो परम्परा हाम्रो अन्धविश्वास र कुरीति ढोंग र धर्मभीरुताले गर्दा हाम्रो समाजको अवनति भैरहेछ । जनसाधारणको परम्परागत विचारमा म नास्तिक ठहरिन्छु होला किनकि मैले धार्मिक अनुष्ठान र पूजापाठमा विश्वास गर्दिनँ र परिवार र समाजमा यही कुरालाई लिएर मेरो संघर्ष छ । यसकारण यो त स्वाभाविक छ कि मेरो जीवनसाथी परम्परावादी भैदिई भने मेरो जीवन लक्ष्यच्युत हुनेछ । धनका लागि मरिमेट्ने र धन नै सबै कुरा ठानेर साथीभाइ, इष्टमित्रलाई लत्याउने विचार पनि मेरो छैन । धन एउटा साधन मात्र हो साध्य अथवा लक्ष्य होइन भन्ने मलाई लाग्छ ।

हुन त चिठीमा सबै कुरा लेख्न सकिँदैन र शब्दहरूको त्यति शक्ति पनि छैन कि मनको कुरा सबै बताउन सकून् । यसकारण यो पत्रलाई यहीँ टुंग्याउँछु र अब म तपाईंको विचार र आदतको बारेमा जान्ने प्रतीक्षामा छु । आशा छ पत्र पाउनेछु ।

तपाईंको

विनय कुमार


Last Updated on: December 4th, 2022 at 3:44 pm


तपाईको प्रतिक्रिया